कविता
******
आत्माहरूको जुलुस
***********************
-सरस्वती श्रेष्ठ सरू
मिरमिरे उज्यालो हुँदै गर्दा
हिलाम्य उखुबारीमा
अलिअलि धुक्धुकीमा ब्युँझी जूनकीरी
थाहा पाई आफ्नै सपनाको बलत्कार भएको
उठाउन खोजी सम्हालेर आफैलाई
अफसोच !
क्षत विक्षत् भैसकेका थिए सपनाहरू
अलि पर मिल्किएका थिए आफ्ना पखेटाहरू
जो उसले स्वयं समयलाई बोकेर उडेकी थिई
साथमै थिए अथाह सपनाहरूको बही खाता
जसमा भविष्यको खाका कोर्नु थियो
भिजेछन् रातभर जूनको आँसुले
एकैछिन घर पुग्न ढिलो भए
आत्तिँदै खोज्न पुग्थिन् आमा
तर आज वर्षौँ भयो आमासँग टाढा भएको
कस्तो भयो होला आमालाई ?
सुनसान उखुबारीमा
जूनकीरीको चीत्कार सुनेर
बेहोस प्राय: छन् अझै उखुका पातहरू
अझै ब्युँझन सकेको छैन धर्ती
अझै तेजोमय हुन सकेको छैन घाम
चिरबिराउन सकेका छैनन् चराहरू
जुन दिन भाँचिए जूनकीरीका पखेटाहरू
जुन दिन च्यातियो जामा
र गरियो निर्मम हत्या
त्यही दिनदेखि खुलेआम ,निर्धक्क डुलिरहेछ अपराधी
मानौँ बलत्कारीले बलात्कार गरेकै छैन
हत्याराले हत्या गरेकै हैन
अपराधी भेटिएझैँ हुन्छ
भेटिएझैँ मात्र हुन्छ भेटिएको हुँदैन
अपराधी पहिचान गरिएझैँ हुन्छ
पहिचान गरिएझैँ मात्र हुन्छ
पहिचान गरिएको हुँदैन
पटकपटक छानबिन हुन्छ
पटकपटक मुचुल्का उठाइन्छ
एकाध डि एन ए परिक्षण गरिन्छ
तर पहिचान गरिन्न
जुन दिनदेखि अपराधीको पहिचान गर्न छोडियो
त्यही दिनदेखि भट्किरहेको छ आत्मा जूनकीरीको
सरकार !
कलिलो र निर्दोष आत्माले न्याय नपाउनु ?
के भुइँ मान्छेले न्याय नपाउनु ?
सुनेका छैनौ तिमीले लाखौं पुतलीहरूका मौन आवाज ?
सुनेका छैनौ लाखौं जूनताराका मौन चीत्कार ?
सुनेका छैनौ लाखौं फूलहरूका मौन कोलाहल ?
मौनताको शक्ति त खतरनाक हुन्छ नि ख्याल गर !
एक दिन ओर्लिने छ गल्ली गल्लीबाट
चोकचोकबाट
बस्ती बस्तीबाट
पुतलीहरूको जुलुस
जूनताराहरूको जुलुस
फूलहरूको जुलुस
आत्माहरुको जुलुस
र त्यतिबेला तिमीले घुँडा टेक्नु पर्नेछ ।
ConversionConversion EmoticonEmoticon