अनुभूतिमा मृत्यु ( Poem- Guest post )


अनुभूतिमा मृत्यु 

**************

----सरस्वती श्रेष्ठ सरू



जिन्दगीले आज
नजिकैबाट मृत्युुले छोएर गएको देख्यो

मृत्युले कसैलाई पर्खंदैन
मृत्युले कसैलाई सुन्दैन
मृत्युले कसैलाई मान्दैन 
मृत्युले आफ्नो आगमन
कसैलाई भन्दैन

जिन्दगी आफूलाई अनुभूत गर्छ 
मृत्यु आफ्नो नजिकै मडारिरहेको छ
मृत्युले आफूलाई सुम्सुम्याइ रहेको छ

जिन्दगीले अझै केही गरेकै छैन 
अपूरा छन् इच्छाहरू
अधुरा छन् आकांक्षाहरू

भरखरै सुरु गरिएका
जीवनयात्राका गोरेटाहरूमा 
गन्तव्यमा पुग्न बाँकी छन् पाइलाहरू
अधुरै छन् जिन्दगीका हिसाबकिताबहरू

कति हिसाबहरू लिन बाँकी छन् 
कति हिसाबहरू दिन बाँकी छन् ।

भरखरै सारेका आफ्ना  बिम्बात्मक बिरुवाहरूमा 
फूलहरू फुल्न बाँकी नै छन् 
उकेरा लगाउन बाँकी नै छ जरामा
उकेराबिना कसरी हुर्केलान्,बढ्लान् र गन्तव्यमा पुग्लान् ?

जिन्दगीले आफ्नै नामको नागरिकता 
धित् मर्नेगरी ओल्टाइपल्टाइ गर्छ
यो नागरिकता लिएर आफू यो देशको नागरिक हुँदाको दिन
जिन्दगी भावुकतावश धित मर्ने गरि रोएको थियो 

आफ्नो माटोमा एउटा बास उभ्याउने उसको मनोकांक्षा 
पूरा नहुँदै मृत्युले निमन्त्रणा दिएझैँ
अनुभुति भएको छ 

सोचमग्न छ
चिन्तित छ
बेहोस प्राय: छ
अलमलमा छ

कहाँ कसलाई के भन्ने हो  ?
कोसँग के भन्ने हो ?
अहँ केही सुझबुझ छैन

आफू नभएपछिको यो घर
आफू नभएपछिको यो संसार 
आफू नभएपछिको यो गोरेटो 
आफू नभएपछिको प्रेम
आफू नभएपछिको जीवनसाथी
आफू नभएपछिको सन्तती

सबका सब के होलान् ?
सबका सब के गर्लान् ?
भरखरैसम्म लिइरहेको निस्वास कहाँ जाला ?
भर्खरैसम्मको तातोपन,यो ढुकढुकी कहाँ जाला ?

यो जड शरीर माटोमा मिल्ने छ
आत्मा ईश्वरमा लीन हुने छ 
मृत्यु शाश्वत सत्य हो
यो अस्वाभाविक पनि होइन 
यो स्वभाविक पनि छैन

साँच्चै !
मृत्युु थाहा पाएपछि नजिकैबाट
शून्य महसुस हुने रहेछ
मोह भङ्ग हुने रहेछ
मृत्युको सामिप्यमा
जीवन साँच्चै डग्मगाउँदो रहेछ ।

About the writer

Saraswoti Shrestha 'Saru' is an inspiring poetess who has been contributing in the field of Nepali literature for about 3 decades. She is a teacher by occupation.
Following are some of her published books;
 थुँगा थुँगा जिन्दगानी ( गीत सङ्ग्रह ) ,
 एक झुल्को घाम ओर्लेर सडकमा ( कविता सङ्ग्रह ),
 फूलहरूको आँधी ( कविता सङ्ग्रह ) ,    
  किट्टी  (बाल कथा सङ्ग्रह )

Previous
Next Post »